काठमाडौं । नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंह टोकियो ओलम्पिकमा १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकाल्नुभयो । गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी सहभागी भएका थिए । त्यसमा उहाँ तेस्रो स्थानमा रहनुभयो ।

गौरिकाले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्नुभएको हो । गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००.६२ सेकेण्डको समय निकाल्नु भएको थियो । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाउनु भएको थियो ।

सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उहाँले राम्रो प्रदर्शन गर्न सक्नुभएन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा आउनुभयो । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहनुभयो ।

यस स्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय कीर्तिमान सुधार गर्नुभएकी नेपाली पौडी खेलाडी सिंहले आफू खुशी रहेको बताउनु भएको छ । राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको भन्दै प्रतिकृया दिनु भएको हो ।

सम्बन्धित खबरहरु