काठमाडौं । आन्तरिक मूल्याङ्कनबाट हुन लागेको एसईईको नतिजा चाँडै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्न लागेको हो ।

आउँदो साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको छ । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले यस्तो बताउनु भएको हो ।

सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ । कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो ।

गत जेठ १३ देखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । कोभिडकै कारणले २०७६ सालको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।

सम्बन्धित खबरहरु