काठमाडौ । एक समयकी चर्चित नेपाली नायिका हुन् शोविता सिंखडा ।

उनी अहिले ओशोकी सन्यासी भएकी छिन् ।

उनी ओशो तपोवनमा स्वामी आनन्द अरुणको सानिध्यमा ध्यान गर्छिन् ।

दुई बर्षदेखि चलेको यो सिलसिला चलचित्र क्षेत्रको चमक धमक भन्दा उनलाई प्रिय लाग्ने गरेको छ ।

उनी एकाएक कसरी बनिन् सन्यासी ? यसको पनि एक रोचक कारण छ ।

केही समय अघि सोविताले फेसबुकमा स्वामी आनन्द अरुणलाई सम्बोधन गर्दै एक लामो स्टाटस लेखेकी थिइन् ।

उनी त्यहाँ लेख्छिन्, आदरणीय बोधिसत्व स्वामी आनन्द अरुणज्यू प्रणाम । थाहा छैन हजुरसँग पहिलो भेट कहाँ र कहिले भयो त्यो पहिलो भेटको स्मरण मसँग छैन तर यति भने पक्कै थाहा छ हजुरलाई भेट्दा म बालकै थिए ।

ओशो संन्यासीको घरमा जन्मदिन पाउनु नै मेरो अहोभाग्य होकि मैले मेरो चेतनाको विकासक्रममै सद्गरु ओशोको बारेमा बझ्ने, जान्ने र सुन्ने दुर्लभ अवसर पाएँ ।

अहिले पनि बालापनतर्फ फर्केर हेर्दा आफूलाई बडो भाग्यशाली महसुस हुन्छ ।

समयको रफ्तारमा अनवरत यात्रा गर्दागर्दै अहिले मेरो जीवनको मोड बदलिएको छ । बाहिरी सुखसयल, धनसम्पत्ती, नाम र भौतिक प्रगतिले मात्रै हाम्रो मानव चोलाले सार्थकता पाउँदैन आफूभित्रैको सुख, सुन्दरता र आनन्दलाई हेर्ने दृष्टि नखुलेसम्म बाहिरी सुख, सुन्दरता र आनन्दको स्वादको कुनै अर्थ रहेनछ । ती त सब क्षणभङ्गुर मात्रै हुन् पानीको थोपा जस्तै आउँछन् र बिलाएर जान्छन् भन्ने बोध ममा पनि हुन थालेको छ ।

उनको माथिको कथनले पनि उनलाई केले सन्यासी बन्न प्रेरित गर्यो भन्ने प्रष्ट हुन्छ । अहिले त सोविताको सेरोफेरो नै ओशो तपोवन भएको छ । उनी त्यहाँ ध्यान गर्छिन्, प्रवचन सुन्छिन्, भक्ति साधनामा लीन हुन्छिन् । आध्यात्मिक विमर्श गर्छिन् । आफैंमा मग्न हुन्छिन् ।

बिहान सबेरै उठ्छिन् । शरीर शुद्ध गर्छिन् । ६ बजेदेखि , डाइनामिक मेडिटेशन शुरू हुन्छ । सक्रिय ध्यान साढे सात बजेसम्म जारी रहन्छ । अनि पालो योगको, त्यसपछि प्रवचन गर्दा साढे नौ बज्छ ।

बिहानको नास्ता तयार हुन्छ । ११ बजेबाट पुनः ध्यान शुरू हुन्छ । अनि दिवा खाना । खानपान सात्विक हुन्छ । खानपानपछि उही क्रम शुरू हुन्छ, ध्यान, योग, प्रचवन । उनको दिनचर्या दुई वर्षदेखि यस्तै वितेको छ ।
थप भिडियोबाट हेर्नुहोस्

सम्बन्धित खबरहरु