काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाउने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको हो । यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको जानकारी त्रिविले दिएको छ ।

विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिनुभयो । दुई वर्षे यो विषय पढ्नका लागि एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।

विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै शंकाय डीन डा कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

नेपाल सरकारका विभिन्न निकायका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनीकरण गर्ने योजना रहेको छ ।

यस कुरालाई लिएर सामाजिक अभियान्ता भरत जङ्गमले पाँच दशकपछि आफ्नो सपना साकार भएकामा खुशी व्यक्त गर्नुभयो । भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उहाँको दावा रहेको छ ।

सम्बन्धित खबरहरु