काठमाडौं । आज देशभर साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ ।

नेपाली संस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. विष्णु दाहालले भनाई छ ।

भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले संक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ ।

जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु ,माछा नखाई ब्रत बस्ने तथा आप, नास्पाती ,भूइकटहरलगायतका फलफूल खाने चलन छ ।

साउन १५ का दिनलाई खिर खाने दिनको रूपमा चिनीन्छ । साउन महिना वर्षा महिना भयकोले पनि विभिन्न रोगहरूबाट छुटकारा पाउनको लागि पनि दुधबाट बनेको खिर खाने गरिन्छ ।

खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ । वर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता रोगहरु नलागोस तथा रोगको संक्रमण नहोस भन्नका लागि खिर खाने गरेको पाइन्छ ।

सम्बन्धित खबरहरु