काठमाडौं । बुधबारदेखि हराइरहेका एक जना बालकको लाश फेला परेको छ । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको हो । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको लाश फेला परेको हो ।

बुधबार साँझ घरबाट हराइरहेका बालकको लाश घरदेखि ४० मिटर टाढा फेला परेको प्रहरीले जानकारी दिएको छ । पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले पुष्टि गर्नुभयो ।

बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । स्थानीयलाई उधृत गर्दै प्रहरीले बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केको बताएको छ । तर, राति अबेरसम्म घर नआउँदा बालकको खोजी शुरु भएको थियो ।

खोजी गर्ने क्रममा बालकको लाश फेला परेको डीएसपी विष्टले बताउनुभयो । बालकको लाश देखिएपछि उनका बुवा र सौतेनी आमा समेत फरार भएका थिए । उनीहरुलाई भने बिहीबार साँझ पक्राउ गरिएको डीएसपी विष्टले जनाउनुभयो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको बताउँदै उहाँले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । बालकका आफ्नी आमा केही दिन अगाडि घरबाट भागेपछि उनका बुवाले दोस्रो विवाह गरेका थिए ।

सम्बन्धित खबरहरु