काठमाडौं । विश्वभरि कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक रूपमा संख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायका रूपमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा वृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता विश्वभरि दैनिक पाँच लाख ४० हजार संक्रमित भएका छन ।

त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लूएचओको भनाइ छ । गत २४ घण्टामा विश्वभर ६ लाख संक्रमित थप भएका छन् । त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाको संख्यामा पनि थोरै वृद्धि भएको डब्लूएचओका अधिकारीले जनाएका छन् ।

डब्लूएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट (स्वरूप) फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बिटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लूएचओले जनाएको छ ।

संक्रमितको कुल संख्याको आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन । कतिपय देशमा कोरोना भाइरसको चौथो चरणको महामारीसमेत सुरु भएको छ ।

सम्बन्धित खबरहरु