काठमाडौं । नेपालमा थप ३,६११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । २७ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

शुक्रवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,६६१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ४,८७८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८३४ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र सक्रिय सङ्क्रमित ८,५०० नाघेका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,८१६ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल ३१ हजार जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ ।

तीमध्ये २७,८२० जना घरमा तथा ३,१९४ जना संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये अहिले ६८६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६१ जना भेन्टिलेटरमा छन् । अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ५५६ जना काठमाडौंमा ३३३ जना कास्कीमा, २३६ जना झापामा फेला परेका हुन् ।

सम्बन्धित खबरहरु