काठमाडौं । चीनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । चीनको नान्जिङ शहरबाट सुरु भएको कोभिड–१९ को प्रकोप बेइजिङ् र पाँच प्रान्तमा फैलिएको छ । चीनका सरकारी सञ्चारमाध्यमहरुले हाल थपिएको सङ्क्रमण वुहानपछिको सबैभन्दा बढी रहेको उल्लेख गरेको हो ।

गत जुलाई २० मा ‘सिटी बस एयरपोर्ट’मा पहिलो पटक सङ्क्रमित फेला परे यता कम्तीमा २०० जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमण अन्य प्रान्त तथा शहरमा फैलिन थालेपछि नान्जिङ विमानस्थलबाट उडान भर्ने सबै विमान आगामी अगष्ट ११ सम्मका लागि स्थगित गरिएको छ ।

अधिकारीहरुले सङ्क्रमित फेला परेको सबै शहरमा ब्यापक सङ्ख्यामा परीक्षण सुरु गरेका छन् । करिब ९३ लाख जनसङ्ख्या रहेको नान्जिङको सबै बासिन्दासहित पछिल्लो दिनमा शहर भ्रमण गरेका सबैलाई परीक्षण गरिने सिन्हवाले उल्लेख गरेको छ । अधिकारीहरुले हाल फैलिएको सङ्क्रमण कोभिड १९ को नयाँ स्वरुप डेल्टा हुनसक्ने अनुमान गरेका छन् ।

चीनको एक अत्यन्तै ब्यस्त विमानस्थलबाट सङ्क्रमण बेइजिङ्सहित १३ शहरमा फैलिएको बताइएको छ । ग्लोबल टाइम्सले भने प्रकोप सुरुवाती अवस्थामा रहेकोले नियन्त्रण गर्न सकिने विज्ञहरुको सुझावसहितको तर्क राखेको छ ।

सम्बन्धित खबरहरु