काठमाडौं । आन्तिरक विवादको शिकार बनिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्र सहमति खोज्ने प्रयास जारी छ । वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउन अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ ।

अध्यक्ष ओलीले शनिबारसम्म सहमतिको प्रयास गर्न आफू पक्षका नेताहरुलाई निर्देशन दिनु भएको छ । दोस्रो तहका नेताहरु नेता नेपालसँग बिहीबारदेखि नै निरन्तर छलफल र संबादमा लाग्नु भएको हो । बरिष्ठ नेता नेपालसँग एमाले संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णुप्रसाद पौडेलले भेटघाट गर्नुभयो ।

हिजो नेता नेम्वाङले नेता नेपालसँग आन्तरिक छलफल गर्नुभएको थियो भने आज नेता पौडेलले छलफल गर्नुभयो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीले भोलि शनिबारसम्म सहमतिको प्रयास गर्ने समय दिनुभएको छ । सो समयभित्र सहमति हुनेमा नेताहरु विश्वस्त हुनुहुन्छ ।

लामो समय सहमतिका लागि लागिरहँदा अन्य काम प्रभावित हुने भन्दै अध्यक्ष ओलीले पार्टीको नियमित कामकाज आइतबारदेखि अगाडि बढाउन निर्देश गर्नुभएको छ । सम्भवतः आइतबारसम्म स्थायी कमिटी बैठक बसी पार्टीको आन्तरिक कामलाई गतिदिने निर्णय गर्नसक्ने पार्टी कार्यालय सचिव तामाङले उल्लेख गर्नुभयो ।

एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा साउन १५ को अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको थियो । पार्टी कार्यालय सचिव तामाङका अनुसार नेताहरुलाई जमघट गराएर खीर खाई सौहाद्रपूर्ण वातावरण निर्माणको प्रयास गरिएको बताउनुभयो ।

सो अवसरमा महासचिव ईश्वर पोखरेलले पार्टीको आन्तरिक समस्या समाधानका लागि प्रयास भइरहेकाले चाँडै सहमति हुनेमा विश्वास व्यक्त गर्नुभयो । खीर खाने कार्यक्रममा नेता नेपाल पक्षका नेताहरु भने सहभागी हुनु भएको थिएन् ।

सम्बन्धित खबरहरु