काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले दार्चुलाको गम्भीर घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेको छ ।

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्नुभएको हो ।

भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ।’

घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गरिएको छ । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।

सम्बन्धित खबरहरु