धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मानवताहीन काम गरेको छ ।

नेपाली तुइन चढिरहेका बेला भारतीय प्रहरीले डोरी चुडाईदिंदा महाकाली नदीमा खसेर नेपाली बेपत्ता भएका छन् ।

नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा नेपाली नागरिक महाकालीमा खसेर बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको स्थानीयले बताएका छन् ।

प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

‘धामीसँगै गएका तीन जना तुर्‍इन तरेर पारि पुगिसकेका रहेछन्,’ ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्‍ढाथोकीले भने, ‘उनीहरुकाअनुसार धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका रहेछन् ।’

त्यसपछि डोरीको उल्टोतर्फ बग्दै नदीमा खसेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको गुनासो आएको बताए ।

‘हामीकहाँ पनि एसएसबीले तुइनको डोरी निकाल्दा धामी नदीमा खसेको गुनासो आएको छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘प्रत्यक्षदर्शीसँग सम्पर्क गर्ने कोशिश भइरहेको छ ।’

धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुझाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।

ज्ञापनपत्र पाएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।

पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गरिएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन् ।

‘भारततर्फ पुग्ने क्रममा एसएसबीले तुइनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको छ,’ भट्टले भनिन्, ‘वास्तविक कुरा खुलेको छैन ।

हामीले घटनाको छानबिनका लागि पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरेका छौं ।

घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन पनि आग्रह गरेका छौं ।’

अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको भट्टले बताइन् । तुइनबाट खसेर बेपत्ता भएका धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित खबरहरु