काठमाडौं । टुक्रा–टुक्रा परेको अवस्थामा जीप फेला परेको छ । कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप फेला पारिएको हो ।

तर सो जीपमा सवार प्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टका अनुसार शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको छ ।

टुक्रा–टुक्रा बनेको जीपको केही भाग बाहिर निकाले पनि चेसिस, इन्जिन अझै निकाल्न सकिएको छैन । विष्टले शनिबार बिहानैदेखि फेरि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको जानकारी गराउनुभयो । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।

जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उहाँकी श्रीमती रुवी जोशीको अवस्था पनि अझै अज्ञात छ । उहाँहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन गरिएको बताउनुभयो ।

दुर्घटनामा पर्नुभएका जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुवन घाइते हुनु भएको छ । उहाँहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । नेपालगञ्जबाट उपचार गरेर फर्किने बेला स–परिवार सोल्टा घुम्न जाने क्रममा जीप दुर्घटना भएको आशंका गरिएको छ ।

सम्बन्धित खबरहरु