काठमाडौं । प्रदेश सभा सदस्य विमला खत्री वली सम्पर्कबिहीन हुनु भएको छ । उहाँ पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको हो । पार्टीको शनिबार हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा वली सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताउनुभयो ।

 

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंकाबीच उहाँ हराउनु भएको हो । यस्तैगरि पार्टीको सम्पर्कबाहिर रहनु भएकी जनता समाजवादी पार्टी (जसपा) सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित मोटो रकम दिने लोभ देखाएको आरोप लगाइएको थियो ।

आर्थिक प्रलोभनमा परेको खबर सार्वजनिक भएपछि ढेंगा जसपामै फर्किनु भएको थियो । लुम्बिनी प्रदेशमा पोखरेल सरकार अल्पमतमा रहेको छ । जसपाका ३ सांसदको पद गुमेपछि पोखरेलसँग ३८ मत मात्रै छ भने विपक्षी गठबन्धनसँग ४१ मत रहेको छ ।

सम्बन्धित खबरहरु