काठमाडौं । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको खुलेको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको हो । यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक÷एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये कैलालीका दुई जना र बझाङका दुई जना रहेको प्रहरीले जानकारी दिएको छ । जानकारी अनुसार सक्कली परीक्षार्थीसँग न्युनतम एक लाखदेखि दुई लाख रुपैयाँसम्म लिएर उनीहरु नक्कली परीक्षार्थी भई अन्तरवार्ता दिन गएका हुन् । अन्तरवार्ता दिने क्रममा उनीहरुमाथि शंका लागेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नक्कली परीक्षार्थी र रकम दिई अन्तरवार्तामा आफ्नो सट्टा अरुलाई पठाउने दुवैमाथि किर्ते गरेको आरोपमा आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तरवार्तामा समेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।

सम्बन्धित खबरहरु