काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाटै एक्लिनुभएको छ ।

उहाँलाई आफ्नै समूहका शीर्ष नेताहरुले साथ छोडिदिनुभएको छ । स्थायी कमिटी बैठक अघि अन्तिम प्रयास स्वरुप एकताको प्रयास गर्न विघटित नेकपा एमाले एकता कार्यदलको बैठक बसेको थियो ।

बैठकमा वरिष्ठ नेता नेपाल र अध्यक्ष केपी शर्मा ओलीले समेत अस्वीकार गरेपनि अब यसअघि गरिएको १० बुँदे सहमति र पार्टी भित्र दुई अध्यक्ष मानेर अघि बढ्ने नै अन्तिम निश्कर्ष निकालिएको छ ।

यो अन्तिम निश्कर्षमा नेपाल तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण बिष्ट र नेताद्धय सुरेन्द्र पाण्डे र रघुजी समेत सहमत हुनुहुन्छ ।

अध्यक्ष नेपालले हुन्न भनेपनि अब हामी एमालेमा कुनै गुट बिहिन रुपमा अघि बढौँ भन्ने सहमति बन्यो एक नेताले बताउनुभयो ।

यता कार्यदलमा रहनुभएका ओली तर्फबाट संयोजक सुवास नेम्वाङका साथै उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालपनि यो विषयमा सहमत हुनुहुन्छ ।

भित्री कुरा बुझ्दा यो विषयमा अध्यक्ष ओलीपनि सहमत हुनुहुन्छ । माधव नेपाल भने अझै केही बखेडा झिक्ने दाउमा हुनुहुन्छ । यसो हुँदा अब भने वरिष्ठ नेता नेपाल एक्लो बन्ने निश्चित बनेको छ ।

उहाँसँग रामकुमारी झाक्री लगायतका सामानुपातितर्फका केही सांसदहरु रहने संकेत छ । अब केही घण्टापनि बखेडा झिकेर नेपाल पार्टी बाहिर नै बसेर गुटगत गतिविधिमा सक्रिय रहे उहाँलाई पार्टीबाट निश्कासन गरिनेछ ।

त्यो कुरा उहाँ निकट शीर्ष नेताले समेत स्वीकार गर्नुहुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले आज दिउसो ३ बजे बोलाएको स्थायी कमिटी बैठक नेता नेपाल पक्षका नेताहरु समेत सामेल हुने देखिन्छ ।

 

तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा तीन एजेण्डा तय गरिएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरण र बितरणलगायतका विषय छलफल हुनेछ । अब भने एमाले महाधिवेशनमा होमिनेछ ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन । यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले आजसम्मको समय नै अन्तिम मान्दै अब एकता भन्दापनि पार्टी गतिविधि अघि बढाउनेगरी यो बैठक केन्द्रीत हुने बुझिएको छ ।

सम्बन्धित खबरहरु