धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइनमार्फत नदी तर्नेक्रममा खसेर एकजना बेपत्ता भएको घटनाबारे अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका दुई जना, सशस्त्रका डीएसपीसहित दुई जना र नेपाल प्रहरीका इन्सपेक्टरसहित दुई जना गरि ६ जनाको टोली घटनाबारे अनुसन्धानका लागि घटनास्थल मालघाटतर्फ गएको हो ।

टोली शनिबार बिहान घटनास्थल मालका लागि हिँडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार टोली झण्डै सात घण्टाको समय लगाएर भारत हुँदै घटनास्थल मालघाट पुगेको छ ।

नेपालबाट मालघाट पुग्न छोटो र मोटर बाटो नभएको र पैदलबाट लामो बाटो जाँदा डेढ दिन लाग्ने भएकाले भारत हुँदै घटनास्थल जानुपर्ने प्रहरी निरीक्षक चन्दले बताए ।

‘भारतको सिघ्रम हुँदै नेपालको हुती भन्ने ठाउँमा आउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यहाँबाट करिब ६ घण्टाको दुरी पार गरेर मात्रै घटनास्थल मालघाट पुग्न सकिन्छ ।’

६ जनाको सुरक्षाकर्मीको टोलीले त्यहाँ पुगेर घटनाबारे अनुसन्धान अगाडि बढाइने उनले बताए ।

धामी बेपत्ता भएको स्थानमा खोजी गर्दै स्थानीय ।
दार्चुलाको व्यास गाउँपालिका मालका ३० वर्षीय जयसिंह धामी भारत हुँदै सदरमुकाम खलंगा आउन लाग्दा तुइन तर्र्नेक्रममा शुक्रबार महाकाली नदीमा खरेर बेपत्ता भएका छन् ।

उनीसंग आएका अन्य पाँच जना तुइन तरेर वारि आइसकेपछि उनी अन्तिममा आउन लाग्दा तुइनबाट खरेर बेपत्ता भएको बताइएको छ ।

स्थानीयले तुइन तर्नेक्रममा भारतीय सुरक्षाबल एसएसबीले तुइन काटिदिएपछि उनी नदीमा खरेर बेपत्ता भएको बताएका छन् ।

तर स्थानीयको भनाई अहिलेसम्म पुष्टि हुन सकेको छैन । यसबारे अनुसन्धाननै भइरहेको प्रहरीले जनाएको छ ।

‘संगै आएकाहरु पनि अनभिज्ञ’
घटनाबारे अनुसन्धान गर्न भन्दै अहिले चौतर्फी दवाब परेको छ । सत्तारुढ दल नेपाली काँग्रेससहितका दलहरुले पनि घटनाबारे सत्यतर्फ बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।

दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चन्दले यसबारे थप अनुसन्धानका लागि टोली घटनास्थल गएको प्रष्ट्याए ।

नेपाल तर्फका स्थानीयको दावी
पाँच जना तुइन तरेर वारि आइसकेपछि उनी अन्तिममा आउदै थिए । उनी वारी तर्न लाग्दा पारीबाट भारतीय सुरक्षाबल एसएसबीले तुइन काटिदिए ।

फलामको डोरी काट्न मिल्ने ह्याक्सो उनले बोकेका थिए । उनले बोकेको ह्याक्सो सहितको तस्बिर स्थानीयले खिचेका छन् । तर नेपाल प्रहरी भने पुष्टि नभएको भन्छ ।

 

सम्बन्धित खबरहरु