काठमाडौं । जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले आफ्नो बयान दिएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता रहेको कुरालाई अस्वीकार गरेको हो ।

शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता भएको आरोपलाई अस्वीकार गर्नुभएको हो ।

मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता हुनु भएको थियो ।

तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ भन्नु भएको छ ।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गर्नुभयो ।

भारतीय पक्षले नदीमा बेपत्ता धामी खोज्न टिम गठन गरेको जनाएको छ । भारतले शुक्रवार करिब ३० मिटर तलबाट मानिस कराएको आवाज सुनेपछि पट्रोलिङमा जाँदा मानिस नदीमा खसेको थाहा पाएको जवाफ दिएको छ ।

नेपाल पक्षले पनि भारतीय एसएसबीका कारण धामी बेपत्ता भएको भन्ने कुरा पुष्टि भैनसकेको जनाएको छ ।

सम्बन्धित खबरहरु