काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि भीषण बाढी आएको छ । बाढीले केही घरहरु नै बगाएको छ ।

त्यहाँ फेरी ठूलो क्षति पुगेको छ । रेडियो मेलम्ची र तालामाराङको प्रहरी चौकी बसेको भवन नै बगाएको छ । चौकी र रेडियो विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताउनुभयो ।

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उहाँले दिनुभयो ।

गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिनुभयो ।

रातो पुलको माथिबाट पानी बगेको उहाँले बताउनुभयो । गत असार १ गते आएको बाढी पुल माथिबाट बगेको थिएन ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाको भनाई छ ।

चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो ।

सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

लामो समय लगाएर उनीहरुले लेदो माटो पन्छाउदै आएका थिए । पन्छाएको ठाउँमा फेरी लेदो माटो भरिएको छ ।

सम्बन्धित खबरहरु