महिला डाक्टरलाई विश्वासै नगर्ने परिपार्टी रहेछ : गोल्डमेडलिस्ट डा. ज्योति

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ११ माघ, २०७१

संयुक्त परिवारमा हुर्किएकी ज्योति विधानले देख्थिन्– ठुलो परिवारमा कोही कोही बिरामी भइरहन्थ्यो । त्यसले उनमा ‘म ठुलो भएर डाक्टर बन्छु र परिवारको उपचार गर्छु’ भन्ने सपना पलायो । त्यही सपना पूरा गर्न उनले स्कुले शिक्षा पूरा गर्नेबित्तिकै एमबिबिएस पढिन् । विराटनगरको नोबेल मेडिकल कलेजमा पढेकी उनी २००९ ब्याचमा काठमाडौं विश्वविद्यालयमै उत्कृष्ट भएर भाइस चान्सलर गोल्डमेडल प्राप्त गरिन् । अहिले उनी नवलपरासी जिल्ला अस्पताल परासीमा मेडिकल अफिसरको रुपमा कार्यरत छिन् । समग्र नेपालमै बालिका शिक्षाप्रति परम्परागत धारणा अझै पूर्ण रुपमा हट्न सकेको छैन । झन् त्यसमाथि तराईमा छोरीले आफूले चाहेको शिक्षा प्राप्त गर्न धेरै नै संघर्ष गर्नुपर्ने अवस्था छ । तर, ज्योतिले त्यस्तो भोग्नुपरेन । उनको सपना पूरा गर्न परिवारले धेरै नै सहयोग ग¥यो । त्यसमा उनको मिहिनेत पनि थपिँदा ‘गोल्डमेडलिस्ट’ बन्न सकिन् उनी । गोल्डमेडलिस्ट बनेर प्रधानमन्त्री सुशील कोइरालाबाट अवार्ड थाप्दाको क्षणमा उनले आफ्नोभन्दा पनि बाबुआमाको खुशी सम्झिइन् । भन्छिन्, ‘त्यतिखेर मैले आफ्नो भन्दा पनि बाबुआमाको खुशी सम्झिएँ, कति गर्व अनुभूति गर्नुभयो होला भनेर ।’

यो सफलतासम्म आइपुग्न उनको निरन्तर अध्ययनको बानीले काम गरेको छ । पढ्ने समयलाई सीमामा बाँधिनन् । पढ्न मन लाग्यो भने धेरैबेर पढ्नथे, मन लागेन भने पढ्दिनथेँ । ‘परीक्षा आइपुग्यो भन्दैमा रात–रातभर गरेर १८ घण्टा नै पढेपनि केही हुँदैंन, मन लगाएर नपढेसम्म केही हुँदैंन ।’ उनी भन्छिन् । उनी पढ्दा ‘इन्ज्वाई’ गरेर पढ्न र मन लगाएर पढ्न सल्लाह दिन्छिन् । एमबिबिएस अध्ययनरतहरुलाई उनको सल्लाह छ– ‘पढाईमा निरन्तरता भएपछि मात्र सफलता पाइन्छ ।’ बाबुआमाहरु अझै पनि छोराछोरीलाई कि डाक्टर, कि इन्जिनियर बनाउँन चाहन्छन् । बाबुआमाकै सपना पूरा गरिदिन छोराछोरीले आफ्ना इच्छा, चाहनालाई मार्नुपर्छ । डा. ज्योतिको विचारमा यो नराम्रो प्रवृत्ति हो । बाबुआमाको दबाब र करमा रुची नलागेको विषय पढ्दा भविष्यमा छोराछोरीमा निराशाको भावना पैदा हुने र त्यसले दुर्घटना निम्त्याउँन सक्ने उनी बताउँछिन् । ‘आफूलाई रुची नलागेको विषय पढ्दा त्यो पछि बोझमात्र बन्छ, अनुपात्दनशिल हुन्छ, त्यसैले आफ्नै रुचीको विषय रोज्नुहोस्, त्यसले तपाईंहरुलाई सफलताको बाटोमा डो¥याउँछ ।’ उनको सुझाव छ ।

 पढाईपछि उनी अहिले जिल्ला अस्पताल परासीमा मेडिकल अफिसरका रुपमा काम गरिरहेकी छिन् । अबको उनको उद्देश्य छ, ‘दुई वर्ष त्यही काम गर्नु र त्यसपछि एमडि पढ्न सरकारी छात्रवृत्तिका लागि प्रयास गर्ने ।’ उनी अब फिजिसियन बन्न चाहन्छिन् ।

अस्पतालमा बस्दा उनले सिनियरहरुबाट सहयोग राम्रो पाइरहेकी छिन् । तर, उनको गज्जबको अनुभव के छ भने – अस्पतालमा आउने अधिकांश उनलाई ‘सिस्टर’ भनेर सम्बोधन गर्छन् । ‘पढेलेखेकाहरु पनि हामी (महिला डाक्टर) लाई सिस्टर भन्छन्, पुरुष डाक्टरलाई चाहिँ डाक्टर भन्छन् । कस्तो परम्परावादी   सोच ।’ उनले भनिन् । ओपिडीमा आउनेहरु पुरुष डाक्टरकहाँ जाने र महिला डाक्टरलाई विश्वासै नगर्ने परिपाटीलाई छक्क परेर हेरिरहेकी छिन् उनी । महिला बिरामीहरु भने सकेसम्म उनैकहाँ जान खोज्छन् । नोबेल मेडिकल कलेजको शैक्षिक वातावरणले पनि पढाइमा प्रेरणा मिलेको उनी बताउछिन्

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७