काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ ।

सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ९५ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

दैनिक रुपमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो ।

अहिले भारतमा कुल सङ्क्रमितमध्ये १.२ प्रतिशत सङ्क्रमितहरु मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार सोही अवधिमा ४० हजार एक सय २० जना नयाँ सङ्क्रमितहरु थपिएका हुन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट तीन करोड २१ लाख १७ हजार आठ सय २६ जना सङ्क्रमित भएको पाइएको छ ।

तीमध्ये चार लाख ३० हजार दुई सय ५४ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये पाँच सय ८५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

देशभरि अहिलेसम्म ५२ करोड ९५ लाख ८२ हजार नौ सय ५६ मात्रा कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । तीमध्ये ५७ लाख ३१ हजार पाँच सय ७४ खोप पछिल्लो २४ घण्टामा प्रयोग भएको हो ।

सम्बन्धित खबरहरु