शुभ कार्य र शुभ सङ्कल्प लिने दिनका रुपमा आज श्रीपञ्चमी पर्व मनाइँदै

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ११ माघ, २०७१
 saraswati-maa

काठमाडौँ, ११ माघ । शुभ कार्य र शुभ सङ्कल्प लिने दिनका रुपमा आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिँदै छ ।

प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलनअनुसार यो दिन विशेष गरी सरस्वतीको मन्दिर एवम् शिक्षालयमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ ।

विद्याकी देवी सरस्वतीको पूजाका साथ मनाइने यो पर्व विशेष गरी पूर्वी भारत र नेपालमा ठूलो उल्लाससहित मनाउने प्रचलन छ । प्राकृतिक रुपमा बोट बिरुवामा पालुवा आउन थाल्ने, जौ र गहुँका बाली लहलहाउने, आरु, आरुबखडा जस्ता फलमा फूल लाग्ने, चारैतिर रङ्गविरङ्गका पुतली उड्ने भएका कारण पनि यस समयलाई वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा लिइन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाअर्चना गर्नुका साथै वसन्त श्रवणसमेत गरिन्छ ।

यस दिन विष्णु, कामदेव र रतीको पूजा गरी शक्ति प्राप्त गर्ने प्राचीन जनविश्वास समेत रहेको उहाँले बताउनुभयो । “शास्त्रहरुमा श्रीपञ्चमीलाई वसन्त पञ्चमीसमेत भनेर उल्लेख गरिएको छ । वसन्त ऋतु आइनसके पनि वसन्त ऋतुको स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा यसलाई लिइन्छ ।” उहाँले भन्नुभयो ।

सरस्वतीको उत्पत्ति सम्बन्धमा पौराणिक धर्म ग्रन्थमा विभिन्न किंवदन्ती पनि पाइन्छ । एक किंवदन्तीअनुसार सृष्टिको प्रारम्भमा भगवान् विष्णुको आज्ञाअनुसार ब्रह्माले जीवको, विशेष गरी मानव जातिकोे रचना गरे । तर ब्रह्मा आफ्नोे सृष्टिसित भने खुुसी थिएनन् । उनलाई केही कमी भएको भान हुन्थ्यो । जसको कारण चारैतिर मौनता छाएको थियो । विष्णुुसित अनुमति लिएर ब्रह्माले आफ्नोे कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुनथाल्यो । यसक्रममा एक अद्भूत शक्तिको उत्पत्ति भयो । जुन एक चतुर्भुजी सुन्दर स्त्रीको थियो । उनको एक हातमा वीणा, अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातमा पुस्तक र माला थिए ।

त्यो देखेर ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । देवीले वीणा बजाएसँगै संसारका समस्त जीवजन्तु वाणी प्राप्त भयो । हावा चल्दा सरसर आवाज आउन थाल्यो । ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने ।

वाणी एवम् सङ्गीतको उत्पत्ति गरेको कारण सरस्वतीलाई सङ्गीतकी देवी पनि भनिन्छ । श्रीपञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रुपमा पनि मनाइन्छ । सङ्गीतका क्षेत्रमा लागेकाले यस दिनलाई सङ्गीत साधनाको महत्वपूर्ण दिनका रुपमा समेत लिने गर्दछन् ।

अर्को एक किंवदन्तीमा श्रीकृष्णले सरस्वतीसित खुसी भएर उनलाई श्रीपञ्चमीको दिन तिम्रोे आराधना गरिनेछ भनी वरदान दिएको पाइन्छ । मानिसको हातको अघिल्लो भागमा लक्ष्मी, मध्यभागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास भएको मानिन्छ । यस कर्मवादी हातलाई ब्रह्माको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्पराअनुसार प्रत्येक दिन प्रभातकालीन समयमा

“कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रह्मा प्रभाते शुभ दर्शनम् ।।”

भन्दै सरस्वतीसहित लक्ष्मी र ब्रह्माजीलाई स्मरण गर्ने गरिन्छ । राजहाँसमा सवार भएकी सरस्वतीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएर सधैँ मुस्कुराइरहने सरस्वतीले सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्ने जनविश्वास रहेको छ ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाममा सरस्वतीलाई पुकार्ने गरिन्छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको विचारमा श्रीपञ्चमी शुभकार्य, सत्सङ्कल्प लिने महान् दिनका रुपमा मानिँदै आएको पवित्र दिन हो ।

यस दिनमा साना बालबालिकालाई अक्षरारम्भ गराउने प्रचलन समेत रहेको जोशीले जानकारी गराउनुभयो । खेतीबालीसहित प्रत्येक कामका लागि योजना निर्माण गर्ने महत्वपूर्ण दिनका रुपमा चीनलगायतका देशमा पनि यसको विशेष महत्व रहेको उहाँको भनाइ छ ।

स्वर, सङ्गीत, ताल, लयदेखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला आदिमा प्रेरित गर्ने महत्वपूर्ण शक्तिका रुपमा सरस्वतीको उपासना गरिने प्रचलन रहेको ज्यो पं माधवप्रसाद सापकोटाले बताउनुभयो ।

सरस्वतीका विभिन्न साधना र पूजाका विधान रहेको जानकारी गराउँदै उहाँले बौद्धधर्मीले उनैलाई मञ्जुश्रीका नामले पूजा आराधना गर्ने गरेको बताउनुभयो ।

संस्कार, सभ्यता र संस्कृतिकी स्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्य आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन भन्ने जनविश्वास रहेको सापकोटाको भनाइ छ ।

श्रीपञ्चमी पर्वका अवसरमा प्रत्येक शैक्षिक संस्थाले सरस्वतीको विशेष पूजा समारोहका आयोजना गर्दै उक्त दिन साना बालबालिकालाई अक्षरारम्भ गराउने गर्दछन् । आजैका दिन उद्यमीले आफ्ना लेनदेनसहितका आर्थिक कारोबार गर्ने गर्दछन् ।

पछिल्ला समयमा श्रीपञ्चमीका दिन साना बालबालिकालाई शैक्षिक संस्थाले निःशुल्क भर्ना गर्ने प्रचलनसमेत बढिरहेको छ ।

सम्बन्धित खबरहरु