काठमाडौ । मधेसमा अन्यायमा परिरहेका केही नागरिकको वास्तविक दृष्य हो यो । राजनीतिक पहुँच भएकाहरु भारतबाट सिँधै नेपाल छिरेर नागरिकता लिइरहेका गुनासा यत्रतत्र छन् ।

तर बाजेको पालादेखि नेपाल छिरेर बसोबास गरिरहेका सोझा नागरिकले न त नेपालको नागरिकता पाएका छन् न त भारतको नै । उनीहरु यही भूमिमा अनागरिक बनेर बसिरहेका छन् ।

त्यो वास्तविक तस्विर आज देखिएको छ । आज भारतको स्वतन्त्रता दिवस । १५ अगस्त भारतको स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई विभिन्न सहयोग, अनुदान तथा अत्याधुनिक सवारी साधन समेत प्रदान गर्ने गर्दछ ।

तर भारतकी पुत्री भएकै आरोपमा नेपालमा बर्षौदेखि बसोबास गरेपनि नागरिकता नपाएकी एक सन्तान अपमानित हुनु परेको छ । स्वतन्त्रता दिवसकै दिन एक छात्रा साइकल नपाएपछि जनकपुरधाममा धुरु धुरु आँसु झार्न परेको छ ।

उनी हुन जनकपुरधाम वडा नं. ९ श्री जानकी मावि जनकपुरधामले कक्षा ८ र हाल कक्षा ९ मा अध्यन्नरत रागिनी खातुन । उनी १५ बर्षकी भइन् । उनी नजन्मिदै उनको परिवार नेपाल आएको हो ।

तर उनका बाबुले अहिलेसम्म नागरिकता पाएका छैनन् । बाबुको नागरिकता नभएकै कारण उनको जन्मदर्ता छैन । नागरिकता बनाउन अब उनलाई समस्या छ । यतिमात्र हैन ।

आज सो विद्यालयले कक्षा ९ का कुल ३२ जना छात्राहरुलाई साइकल वितरण गरेको छ । प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत विद्यालयले पाएको ३२ वटा साइकल कक्षा आठकी छात्राहरु जो हाल कक्षा ९ मा अध्यन्नरत छन् उनीहरुलाई वितरण गरिएको वडा अध्यक्ष परमेश्वर साहले बताए ।

उनीसँग पढ्ने सबै केटी साथीले साइकल पाए । तर उनले पाइनन् । कारण उनी नेपाली हैनन् रे उनी भारतिय पुत्री रे । यसो भन्दै अपमान गरेर साईकल नदिएपछि उनी डाको छोडेर रुन थालिन् ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख उपप्रमुख सहितको समेत उपस्थिती रहेको कार्यक्रममा एकजना छात्रा साइकल नपाएपछि खुबै रोइन ।

उनका अनुसार उनलाई भारतिय रहेको र उनीसँग जन्मदर्ता नरहेकाले साइकल प्रदान गरिएन । विद्यालयका शिक्षकले समेत साइकल नपाएकी छात्रा रागिनी खातुन नियमित विद्यालय आउने इमान्दार विद्यार्थी रहेकाले साइकल दिनुपर्ने बताउछन् ।

विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले यस विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहस भएको बताए ।

भारतको आधार कार्डको आधारमा विद्यालयमा भर्ना गर्न मिल्ने, पढाउन मिल्ने अनि वर्षौ वर्ष देखि विद्यालय आउने गरेकी बालिकालाई सुविधा दिन किन नमिल्ने ? उनको मनोबिज्ञानमा के असर पर्छ ? यी सारा सवालमा बहस भएको थियो ।

तरपनि मुख्यमन्त्री कार्यालयले साइकल नपठाएको उनीहरुको गुनासो छ । भर्ना गर्न मिल्ने पढ्न मिल्ने अनि साइकल किन पाउदैन ? शिक्षकको समेत प्रश्न छ ।

वडा अध्यक्ष साहले समेत खातुनका लागि पहल भइरहेको प्रदेश २ सरकारले नदिए नगरपालिकाबाट उपलब्ध गराउने बताए । तर आज भने उनीमाथी ठूलो अपमान र अन्याय गरियो । यस्ता मानवीय अपमान र अन्याय नगरियोस् ।

 

सम्बन्धित खबरहरु