काठमाडौं । अफगानस्तानका तत्कालिन राष्ट्रपति अशरफ घनी कहाँ छन् भन्ने प्रश्नको जवाफ मिलेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले घनी आफ्नो देशमा भएको पुष्टि गरेको हो ।

युएईले पूर्वराष्ट्रपति अशरफ घनी र उनको परिवारलाई मानवीय आधारमा देशमा स्वागत गरेको भन्दै मन्त्रालयले एक बयान जारी गरेको छ ।

सन् जन्म १९४९ मा जन्मेका घनी दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका राष्ट्रपति रहेका थिए । उनी राष्ट्रपति चुनावमा सेप्टेम्बर २१, २०१४ मा निर्वाचित भएका थिए ।

अफगानिस्तानको लागोर शहरमा जन्म भएको भए पनि उनले लामो समय विदेशमा बिताएका थिए । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् ।

हालै तालिबान काबुल पसेपछि उनले देश छोडेका थिए । उनी कहाँ गए भन्ने कुरा कसैलाई जानकारी थिएन । आफूले देश छोडेको कुरा उनले आफ्नो एक फेसबुक पोस्टमार्फत गरेका थिए । मानवीय क्षति रोक्नका लागि आफूले देश छोडेको उनको तर्क थियो ।

सुरुवाती रिपोर्टहरुमा घनी ताजकिस्तान गएको भनिएको थियो । अन्य केहि रिर्पोटहरुमा राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएका छन् भनिएको थियो ।

उनी अमेरिका उडेको अनुमान पनि गरिएको थियो । तर यी सबै देशका सरकारहरुले पुष्टि गरेका थिएनन् । यो बीचमा युएई सरकारले घनी आफ्नो देशमा भएको पुष्टि गरेसँगै सबै अड्कलहरु फेल खाएका छन् ।

सम्बन्धित खबरहरु