काठमाडौ। एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाएको आरोप लगाएका छन् ।

लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले तत्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नै भएको आरोपसमेत लगाएका छन् ।

‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरू हुन्,’ उनले भने, ‘प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रूपमा विभाजनको मूल कारक हो ।

आन्दोलनकारी, अभियान्ताजस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पुराना नेताहरू पाखा लाग्नुभएको रहेछ ।’ नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै उनले ओलीलाई ‘एकताविरोधी’ बनाउन खोजिएको उल्लेख गरे ।

अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमा समेत प्रचण्ड लागेको नेता पोखरेलको आरोप छ । पोखरेलले माधव नेपालकै कारण पार्टी फुटेको ठोकुवासमेत गरेका छन् । नेपालले एमालेलाई १५ वर्षसम्म ‘एकल नेतृत्व गरेको’ बताउँदै उनले ‘त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सिर्जना भएको’ आरोप लगाए ।

प्रचण्डसँग मिलेर नेपालले ओलीलाई राजनीतिक रूपमा विस्थापन गर्न खोज्नु नै कम्युनिस्ट आन्दोलनको दुर्भाग्य भएको उनको टिप्पणी रहेको आजको राजधानी दैनिकमा खवर छ ।

 

सम्बन्धित खबरहरु