इस्लामाबाद । पहिलो पटक पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवाले तालिबानलाई कडा शब्दमा चेतावनी दिनु भएको छ ।

बलूच विद्रोहीको कारबाही र तालिबानमाथि नियन्त्रण गर्न विश्वभरबाट बढ्दो दबाबबीच उहाँले कडा सन्देश दिनु भएको हो ।

जनरल बाजवाले भन्नुभयो, ‘तालिबानले महिला र मानव अधिकारको सम्बन्धमा विश्व समुदायसंग गरेको वाचा पूरा गर्नु पर्छ । साथै, आफ्नो भूमि (अफगानस्तान) अरु कसैको बिरुद्ध प्रयोग गर्नको लागि अनुमति दिनु हुँदैन् ।’

जानकारहरुका अनुसार बाजवाले बलुच विद्रोहीहरुलाई संकेत गर्दै हुनुहुन्थ्यो, जो पाकिस्तानमा चीनी नागरिकहरुमाथि कारबाही गरिरहेका छन् । पाकिस्तानी अखबार डनका ​​अनुसार पाकिस्तान सैन्य एकेडेमीमा बोल्दै बाजवाले यो सबै कुरा भन्नु भएको हो ।

सेना प्रमुखले अगाडि भन्नुभयो, ‘पाकिस्तान अफगानिस्तान र क्षेत्र मा शान्ति चाहन्छ र त्यसैले छिमेकमा धेरै दशक देखि चलिरहेको विवादको समाधानको लागि गम्भीर प्रयास गरेको छ ।

हामीले स्पष्ट र बारम्बार विश्व समुदायलाई अफगानिस्तानको प्रक्रियामा एक गैर–पक्षपाती र समन्वित तरीकाले आफ्नो भूमिका खेल्न आग्रह गरेका छौं ।’

तालिबानले विश्वलाई दिएको वाचा पूरा गर्नुपर्छ
पाकिस्तानी सेना प्रमुखले पाकिस्तानले अफगानिस्तानको शान्ति प्रक्रियामा आफ्नो भूमिका जारी राखेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी आशा गर्छौं कि तालिबानले महिला र मानव अधिकार सम्बन्धी विश्व समुदायलाई दिएको वाचा पूरा गर्ने छ ।

अर्कोतिर अफगान भूमि कुनै अन्य देशको बिरुद्ध प्रयोग गर्न को लागी अनुमति दिने छैन ।’ सो क्रममा जनरल बाजवाले कश्मीरको कुरा पनि उल्लेख गर्न छोड्नु भएन् । उहाँका अनुसार कश्मीरी जनता मानव इतिहासको सबैभन्दा खराब सैन्य नियन्त्रणको सामना गरिरहेका छन् ।

उहाँले पाकिस्तान सधैं कश्मीरी जनताको साथमा रहने स्पष्ट पार्नुभयो । पाकिस्तानी सेना प्रमुखले भन्नुभयो, ‘जब सम्म कश्मीर मुद्दाको न्यायपूर्ण र शान्तिपूर्ण तरीकाबाट समाधान हुदैन तब सम्म यस क्षेत्रमा शान्ति हुन सक्दैन ।’

जनरल बाजवाले भारतलाई निशाना बनाए
भारतलाई औंल्याउँदै उहाँले हाइब्रिड लडाँईको कुरा निकाल्नु भएको हो । भारतका तर्फबाट हाइब्रिड लडाँईका माध्यमबाट पाकिस्तानी समाजलाई कमजोर बनाउने प्रयास भइरहेको उहाँको बुझाई रहेको छ ।

भारतीय जनता पार्टी (भाजपा) को माउ संगठनका रूपमा रहेको हिन्दु उग्रवादी समुह राष्ट्रिय स्वंयम सेवक संघ (आरएसएस) तर्फ संकेत गर्दै उहाँले भारतमा अतिवाद बढ्दै गएको उल्लेख गर्नुभयो ।

पाकिस्तानी सेना त्यसको सामना गर्न सक्षम भएको पनि उहाँले स्पष्ट पार्नुभयो । पाकिस्तानी सेना प्रमुखको यो बयान यस्तो समयमा आएको छ, जब विश्व नेताहरु प्रधानमन्त्री इमरान खान र जनरल बाजवालाई मानव अधिकार र महिलाहरुको सम्मानको लागी तालिबानलाई दबाब दिनको लागी फोन गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु