काठमाडौं । चर्चित कमेडियन खड्ग बहादुर पुन ( खबपु ) सवारी दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् ।

काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा उनी दुर्घटनाको सिकार भएका छन् । विपरीत दिसाबाट आएको ट्रकलाई बाटो दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि उनको अनुहार, हात र खुट्टामा चोट लागेको उनका साथी नवराज थापाले जानकारी दिएका छन् । उनका अनुसार खबपु बिहीबार राति नै सामान्य उपचारपछि घर फर्किएका छन् ।

अहिले उनको अवस्था सामान्य रहेको छ । खबपु दुर्घटना परेको ठाउँको बाटो साँगुरो भएकोले पनि सो घटना घटेको थापाको भनाइ छ ।

उनको स्कुटीमा पनि सामान्य क्षति पुगेको छ । नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल भएका थिए ।

उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै व्यस्त रहँदै आएका छन् ।

सम्बन्धित खबरहरु