म्याग्दीै । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगङ्गा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ ( River dammed lake ) बनेको छ ।

तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत साउन ८ गते धौलागिरि गाउँपालिका–१ खास्टा भन्ने ठाउँमा पहिरो खसेर म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिँदा बनेको तलाउ अझै छ ।

रघुगङ्गा र गुर्जाको तलाउ एकै पटक फुटेर बगेका अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

कालीगण्डकी, म्याग्दी र रघुगङ्गा जलाधार क्षेत्रमा विभाजित जिल्लामा बर्सेनि पहिरोले नदी थुनिने, बाढी आउने र कटान गर्ने समस्या छ ।

म्याग्दीसमेत कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल कमजोर भूगोल र भिरालो जमिन भएको म्याग्दीमा गहिरिएर बगेका नदी थुनिने जोखिम धेरै भएको बताउनुहुन्छ ।

“खोलाभन्दा माथिल्लो क्षेत्रको जमिन धेरै भिरालो मात्र होइन पहाडको चट्टान र माटो कमजोर छ”, उहाँले भन्नुभयो, “अत्यधिक वर्षा, भूकम्प, विकास निर्माणजस्ता प्राकृतिक र मानवीय कारणले जमिन असन्तुलित भएर पहिरो खस्दा साँघुरो भई गहिरिएका खोला थुनिएका हुन् ।”

जिल्लामा बर्खा र हिउँद याम दुवै समयमा पहाड भत्किएर तथा पहिरो खसेर नदी थुनिएको इतिहास छ । बर्खामा बर्सातको कारण खसेको पहिरोले नदी थुनिने गर्छ । हिउँदमा भूकम्प र आफैँ पनि सुक्खा पहिरो गएको एक दशकभन्दा बढी समय म्याग्दीमा बसेर काम गर्नुभएका उहाँले बताउनुभयो ।

विसं २०७२ जेठमा बैसरी, २०५६ असोजमा भुरुङ–तातोपानी, २०४५ असोजमा छ्यारछ्यारे, २०४२ मा दाना, २०७३ मा बेगखोला, २०६८ मा पाखापानीको औल, २०७५ मा मराङखोला र रघुगङ्गा, २०७७ मा अन्नपूर्णको रुप्से, मङ्गलाको हिलवाङखोला थुनिँदा ठूलो जनधनको क्षति भएको थियो ।

भूकम्पले चर्किएको अन्नपूर्ण गाउँपालिकाको काफलडाँडास्थित पहाडसहित खसेको पहिराले ३० घरधुरीको बसोबास भएको रघुगङ्गा गाउँपालिकाको बैसरी पुरिनुका साथै कालीगण्डकी नदी १८ घण्टा थुनिएको थियो । म्याग्दी नदीलाई करिब एक घण्टा थुनेको र सिङ्गो बस्तीनै पुरेको छ्यारछ्यारेको पहिरोले १०४ जनाको ज्यान लिएको थियो ।

बेगखोला थुनिएर आएको बाढीले विसं २०७३ भदौमा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे पुल र बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको थियो । मालिका गाउँपालिकाको रितुङ, रघुगङ्गाको घारखोला, अन्नपूर्णको नीलगिरि, घलेम्दी, दोवाखोला पनि थुनिने गर्छन् ।

कमजोर भूवनोट र भिरालो जमिन भएको ठाउँमा जलविद्युत् आयोजना निर्माणका लागि गरिएको बलास्टिङ र सडक निर्माणका क्रममा डोजर चलाउँदा हुने कम्पनले जमिनलाई हलचल गराएको छ ।

जिल्लाका अधिकांश बस्ती नदीको तटीय क्षेत्र र पहाडको शिरमा छन् । सहायक नदीमा आउने बाढी म्याग्दी र कालीगण्डकी नदीमा मिसिन्छ ।

विसं २०७५ भदौ अन्तिममा बगरखोला भन्ने ठाउँमा खसेको पहिरोका कारण राहुघाट नदी थुनिएर आएको बाढीले झोलुङ्गे पुल, घ्याँसीखर्कको रितुङ माविको भवन, केही घर, गलेश्वर र बेनी बजार संरक्षणका लागि निर्माण भएको तटबन्ध बगाएको थियो ।

विसं २०७७ को साउनमा अन्नपूर्णको दानास्थित रुप्से खोलामा पहिरो खसेपछि आएको बाढीले रुप्सेको एउटा रिसोर्ट, एक वटा एक्साभेटर, बस बगाउनुका साथै निर्माणाधिन मोटरेबल पुल, पर्यटकीयस्थल रुप्से झरना र संसारकै गहिरो अन्धगल्छीलाई तहसनहस पारेको थियो ।

सदरमुकाम बेनी, मालिकाको दरबाङ, मङ्गलाको बाबियाचौर, सिङ्गा, भुरुङ तातोपानी, पोखरेबगर, तिप्ल्याङ, घुमाउने ताल, राहुघाट, घ्याँसीखर्कका बस्तीमा बर्सेनि कटान हुने गरेको छ । बस्तीसँगै जलविद्युत् आयोजनाका बाँध, सिँचाइ आयोजनाका नहर, सडक, मोटरेबल पुल र झोलुङ्गे पुलमा बाढीले क्षति गरेको छ ।

भू–तथा जलाधार संरक्षण कार्यलय पर्वतको बेनीस्थित सम्पर्क एकाइका प्रमुख सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रले संरक्षण र वातावरणमैत्री विकास, तटीय क्षेत्रमा नदी नियन्त्रणका लागि संरचना निर्माण र सुरक्षित ठाउँमा बस्ती विकास गर्नुपर्ने बताउनुहुन्छ ।

“भिरालो जमिन भएको र नदी किनारको तटीय क्षेत्रको बस्ती जोखिममा छन्”, उहाँले भन्नुभयो, “जोखिमयुक्त ठाउँमा तटबन्ध गरी नदी नियन्त्रणका साथै विकास निर्माणका कामलाई व्यवस्थित र वातावरणमैत्री बनाउन आवश्यक छ ।” रासस

सम्बन्धित खबरहरु