काठमाडौ । संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्ने सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहिरिनुभएको छ ।

रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए ।

प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जानकारी दिएको छ ।

संविधान बमोजिम संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश रहने भएकाले पेशी तोक्ने र फैसला हुने दिन राणा सर्वोच्च अदालतमा अनुपस्थित हुने रणनीति बनेको बुझिएको छ ।

संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणा बिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधान न्यायाधीश समेत विपक्षी रहेको भन्दै उहाँ इजलासमा बस्न नमिल्ने भनेपछि केहीबेर इजलासमा चर्काचर्की चलेको थियो । आफू संवैधानिक दायित्वका कारण संवैधानिक परिषदको बैठकमा बसेको भन्दै प्रधानन्यायाधीश भएका कारण इजलासबाट पनि नबाहिरिने राणाको अडान थियो ।

तर संवैधानिक इजलासका अन्य न्यायाधीशसँगको छलफलपछि उहाँले बाहिरिने निर्णय लिनुभएको हो । उहाँको अनुपस्थितिमा अब पेशी तोक्ने र इजलासको नेतृत्व वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले गर्नुहुनेछ ।

संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।

 

सम्बन्धित खबरहरु