काठमाडौं । माधवकुमार नेपाल ( Madhav Kumar Nepal ) लाई नेकपा एमालेका उपाध्यक्ष भीम रावल ( Dr. Bhim Bahadur Rawal ) ले कडा जवाफ फर्काउनु भएको छ ।

समाजवादी पार्टीका अध्यक्ष नेपालले एमाले काम नलाग्ने पार्टी भनेपछि नेता रावलको जवाफ आएको हो । उहाँले उक्त बयान आश्चर्यजनक भएको बताउनु भएको छ ।

रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमालेको महासचिव, अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको हो ।

नेता रावलले भन्नु भएको छ, ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो ।

अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’ बिहीबार नेता नेपालले एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले दक्षिणपन्थी भएको बताउनु भएको थियो ।

त्यसको जवाफमा तुरुन्तै रावलले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद गर्नुभएको हो ।

सम्बन्धित खबरहरु