काठमाडौं । काबुल घटनामा आफूहरुलाई कुनै पनि क्षति नभएको तालिबानको बयान आएको छ । प्रवक्ता जबीहुल्लाह मुजाहिद ( zabihullah mujahid ) ले बीबीसीको पश्तो सेवालाई यस्तो बयान दिएका हुन् ।

विमानस्थलको घटनामा कयौँ अफगानीको मृत्यु हुँदा समेत तालिबानले हाम्रो कुनै क्षति भएन भनेर दिएको बयानले सबै चकित बनेका छन् । बिहीवार साँझ भएको घटनामा दर्जन भन्दा धेरै अमेरिकी सैनिकसहित १०० भन्दा धेरैको मृत्यु भैसकेको छ ।

तालिबान प्रवत्ताले बीबीसीसँग भने, ‘हामी (तालिबान) लाई कुनै क्षति भएको छैन । यो घटना अमेरिकी सेनाको नियन्त्रणमा रहेको ठाउँमा भएको हो ।’ यसअघि समाचार एजेन्सी रोयटर्सले कम्तीमा २८ तालिबानी सदस्य मारिएको बताएको थियो ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका एक स्रोतले शुक्रबार स्पुटनिकलाई १,३३८ जना घाइते भएको जानकारी दिएका थिए ।

काबुल विमानस्थल र यसको बाहिरी इलाकामा सो घटना भएको थियो । इस्लामिक स्टेट–खोरासन चरमपन्थी समूहले जिम्मेवारी लिएको छ ।

अहिलेसम्म १०३ जनाको मृत्यु भएको बताइएको छ । ९० जना अफगानी नागरिक र १३ अमेरिकी सैनिकको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ अगस्टको समयसीमा तोकेर आफ्ना नागरिकलाई फिर्ता लिइरहेका छन् ।

अमेरिकाको सहयोगी देशहरुले आफ्ना नगरिक फिर्ता लिइरहेका छन् । अफगानिस्तान छोड्का लागि हजारौं मानिसहरु काबुल विमानस्थल बाहिर जम्मा भएका छन् ।

सम्बन्धित खबरहरु