काठमाडौं । चीनले विद्यालयको पाठ्यक्रममा राष्ट्रपति सी जिनपिङ ( Xi jinping ) ले प्रतिपादन गरेका राजनीतिक विचार समावेश गर्न लागेको छ ।

‘सी जिनपिङ विचारधारा’ ले किशोरकिशोरीमा मार्क्सवादी अवधारणा स्थापित गर्न सहयोग पुर्याउने चिनियाँ शिक्षा मन्त्रालय बताउँछ ।

प्राथमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म उक्त विचारधारा पढाउने सरकारले जानकारी दिएको छ । समाजका फरक क्षेत्रहरूमा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका विस्तार गर्ने सीको यो नवीनतम प्रयास हो ।

एउटा विज्ञप्तिमा चीनको शिक्षा मन्त्रालयले बहुमुखी नैतिक, बौद्धिक, भौतिक र कलात्मक धरातलयुक्त समाजवादका सूत्रधार र उत्तराधिकारी विकसित गर्नु मुख्य उद्देश्य भएको बताएको छ । निर्देशिकामा राष्ट्रिय सुरक्षासम्बन्धी शिक्षा तथा कडा परिश्रम गर्ने भावना विकसित गर्न श्रमसम्बन्धी शिक्षा पनि समाविष्ट गरिएको छ ।

सन् २०१८ मा चीनको सर्वोच्च निकायले ‘ सी जिनपिङ विचारधारा’ लाई पार्टीको विधानमा पनि प्रतिष्ठापित गरिसकेको छ । त्यसयता केही विश्वविद्यालय र विद्यालय तथा राजनीतिक युवा समूहका अतिरिक्त क्रियाकलापमा यो पढाइ सकिएको छ ।

‘ सी जिनपिङ विचारधारा’ मा १४ वटा प्रमुख सिद्धान्त रहेका छन् । साम्यवादी आदर्शसँगै पूर्ण र गहिरो सुधार तथा नयाँ विचार निर्माणको आह्वान, मानव र प्रकृतिबीच सामञ्जस्ययुक्त जीवनको वाचा, जनसेनामाथि पार्टीको पूर्ण नियन्त्रणमा जोड र एक देश दुई प्रणाली तथा मातृभूमिको पुनरेकीकरण को महत्त्वमा जोड दिइएको छ । नयाँ निर्देशिका अझै बृहत् रूपमा लागु गर्ने सरकारको योजना रहेको चिनियाँ अधिकारीहरूको बुझाई रहेको छ ।

सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार प्राथमिक विद्यालयहरू राष्ट्र, चिनियाँ कम्युनिस्ट पार्टी र समाजवादप्रति प्रेम विकसित गर्न केन्द्रित हुनेछन् । माध्यमिक विद्यालयहरूमा विद्यार्थीलाई आधारभूत राजनीतिक विचार र तर्क बनाउन सघाउनका लागि बोधात्मक अनुभव र ज्ञानको सम्मिलनमा जोड दिइनेछ ।

पत्रिकाले कलेजमा सैद्धान्तिक विचारको प्रतिष्ठापनमा अझ जोड दिइने जनाएको छ । पहिला पनि चिनियाँ नेताहरूले छुट्टै राजनीतिक विचारधाराहरू प्रतिपादन गरेका थिए ।

त्यसलाई पार्टीको विधान वा विचारधारामा पनि संलग्न गरिएको छ । तर पार्टीका संस्थापक नेता माओबाहेक अरूको विचारधारालाई सिद्धान्तको मान्यता दिइएको छैन । माओवादलाई चीनमा सबै विचारधारामध्ये शीर्ष स्थानमा राखिएको छ । बीबीसी

सम्बन्धित खबरहरु