काठमाडौं । लिफ्ट दिएर अन्तै लैजान खोजेपछि हाम्फालेकी किशोरी गम्भीर घाइते भएकी छिन् । बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी गम्भीर घाइते भएकी हुन् ।

बैतडी जिल्लाको पाटन नगरपालिका–९ किचारकी १६ वर्षीया गोदावरी भट्ट गम्भीर घाइते भएकी थिइन् ।

सोमबार बिहान गौरा पर्वका लागि लुगाकपडा र श्रृंगारका सामान किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले जानकारी दिएका छन् ।

आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य किशोरीसँग खोड्पे पुगेकी गोदावरी बुवाभन्दा केही ढिलो घर फर्किँदा हरिशले आफैं लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताएका छन् । उनका अनुसार गोदावरीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेकी थिइन् ।

तर, उनले विजयपुर सम्म पुर्‍याइदिन्छु भनेका थिए । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेकी हुन् । गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ ।

हरिशको घर पनि पाटन नगरपालिका–९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लग्ने प्रयास पछि गोदावरीले हामफालेको बताइएको छ ।

घाइते गोदावरीको अहिले धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको दाजु जनकले जानकारी दिएका छन् ।

पीडित परिवारले घटनाको छानविनका लागि खोड्पे प्रहरी चौकीमा निवेदन दिएका छन् । आफ्नो बहिनीले न्याय पाउनुपर्ने दाजु जनकको माग छ ।

प्रहरीले चालक हरिश र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु