काठमाडौं । नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव जित्नुभएका मधेस केन्द्रीत दलबाट अलग हुनुभएका चर्चित नेता हृदयेश त्रिपाठीको समूहलेपनि एमाले छोडेको छ ।

उहाँ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री समेत बन्नुभएको थियो । उहाँको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको हो ।

भदौ महिनसम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताउनुभयो । ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भन्नुभयो, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन् ।

स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ । ‘नेपाल समाजवादी पार्टी’ नाम त्रिपाठीले पहिलो प्राथमिकतामा राखेको स्रोतले बतायो ।

त्रिपाठीले भने, ‘नाम चयन गर्दा निर्वाचन आयोगको दर्ता किताबमा नाम जुधे–नजुधेको पनि हेर्छौँ।’ उहाँले भन्नुभयो, ‘नाम जे भए पनि नाम भन्दा पार्टी खोल्ने कुरा ठूलो कुरा हो । पार्टीमा खोल्ने निर्णय गरिसकेका छौँ।’

त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ । यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन् । प्रतिनिधिसभा सांसदमा त्रिपाठी र बिजे्रश गुप्ता हुनुहुन्छ भने प्रदेशसभा सांसदमा अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव हुनुहुन्छ ।

यसैगरी यो समूहमा पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्रलगायतका नेताहरू पनि हुनुहुन्छ । यस समूहका नेताहरू २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव जित्नुभएको छ ।

त्यसैले अहिले पनि उहाँहरू कानुनी रूपमा एमालकै मानिने एमाले नेताहरूको दाबी छ । तर त्रिपाठी समूहका नेताहरू भने २०७४ को चुनावमा एमालेसँग चुनावी तालमेल मात्र गरिएको कारण कानुनी रूपमा पार्टी खोल्न मिल्ने दाबी गर्नुहुन्छ । ‘२०७४ सालमा एमालेसँग चुनावी तालमेल मात्र गरेका हौँ । पार्टी खोल्न मिल्छ,’ त्रिपाठीले नै भन्नुभएको छ ।

 

सम्बन्धित खबरहरु