काठमाडौ । नेकपा एमाले ( CPN UML Nepal ) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ( Kp Sharma Oli ) ले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने टिप्पणी गर्नुभएको छ ।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमाले ठूलो रुख भएकाले ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’ भन्नुभएको हो ।

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा गठन नहुँदै पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताउनुभयो । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भन्नुभयो ।

ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताउनुभयो । ‘केही मान्छे पतीत भएका हुन् बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्’ उहाँले थप बोल्नुभयो ।

ओलीले एमाले फुटेको नभई अलिकति चोइटिएको हो यसमा कसैले गुनासो गर्नुपर्दैन भन्नुभयो । ‘फुट्नु र चोइटिनु फरक कुरा हो । चोइटाको कसैलाई खाँचो हुँदैन उहाँको भनाई थियो ।

 

सम्बन्धित खबरहरु