काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले नेपाल स्वयंपनि देउवाको टाङमुनि छिरेको विश्लेषण गर्नुभयो ।

शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उहाँले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको खुलासा गर्नुभयो ।

‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ’ उहाँले स्पष्ट पार्नुभयो ।

माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतको आरोप छ ।

‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो, त्यतिबेला केपी ओलीले रोक्नुभयो’ उहाँले भन्नुभयो ।

सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभयो ।

‘मदन भण्डारीको नाम बेचेर माधव नेपाल र झलनाथ खनालले प्रचण्ड र शेरबहादुरको टाङमुनि छिराउँदैछन्’ उहाँले भन्नुभयो, ‘अरु नेताहरुले त्यस्ता काममा साथ दिनु हुँदैन ।’

सम्बन्धित खबरहरु