काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ ।


गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आजको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण बढिरहेका बेला लाखौँ भक्तजनको उपस्थितिमा हुने मेला गर्दा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगित गर्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न लाखौँ भक्तजन आउने गर्छन् ।

भाद्रकृष्ण औँसीका दिन यहाँ आएर जलदान, सिदादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगित गरिएको थियो । यस वर्ष भदौ २२ गते कुशे औँसी मेला परेको छ ।

सम्बन्धित खबरहरु