काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् ।

क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराउनु भएको थियो ।

नेता सिटौलाले सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेपछि रिले अनशनमा बसेका जिल्ला सभापतिले अनशन तोडेका हुन् ।

नेपाली काँग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको थियो ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापतिबीच भएको भेटमा जिल्ला सभापतिका मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले जारी अनशन स्थगित गराउनका लागि छलफल गरिएको थियो ।

अधिवेशनपूर्व क्रियाशील सदस्यतको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरुपता ल्याउन निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले रिले अनशन स्थगित गरेर निर्वाचनमा जानका लागि सुझाव दिइएको हो ।

“भदौ १८ मै देशभरका छ हजार ७४३ वडामा अधिवेशन सुरु गर्नु संवैधानिक बाध्यता भएकाले एकजुट भएर महाधिवेशनमा जानेबारे बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

विधि र नियमअनुसार नै निर्वाचनमा जाने माहोल बन्दै गएको पनि पूर्वमहामन्त्री सिंहले चर्चा गर्नुभयो ।

बैठकमा नेतासँगै काठमाडौँका सबुज बानियाँ, नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमलालगायत जिल्लासभापतिको सहभागिता थियो ।

सम्बन्धित खबरहरु