काठमाडौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम आज नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली पार्टीको वेभसाइटमा प्रकाशित गरेको हो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

समितिले यसअघि बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका गरी कूल ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेसँगै यही भदौ १८ गते तोकिएको वडा अधिवेशनका लागि नेता कार्यकर्ता अधिवेशनमा केन्द्रित देखिएका छन् ।

नवीकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन ।

क्रियाशील सदस्यले आफ्नोे वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने काँग्रेस विधानमा उल्लेख छ ।

काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

सम्बन्धित खबरहरु