काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नोे पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पनि आउनसमेत पुनः आग्रह गर्नुभयो ।

उहाँले तत्काल अरु कुनै पार्टीसँग एकता नहुने र आफू एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने स्पष्ट पार्नुभयो ।

यो पनि, नेकपा (एकीकृत समाजवादी)को बागलुङमा गठन प्रक्रिया थालिएको छ । आज बागलुङ बजारमा समाजवादी पार्टीमा लागेका उपलब्धहरूको भेलाले केन्द्रीय नेतृत्वसँग समन्वय गरी जिल्ला भेला गर्ने गरी लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय पार्टीको जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ । तत्कालीन नेकपा (एमाले)का सचिवसमेत रहनुभएका थापाको संयोजकमा जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो ।

भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको चार सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति, शालिकराम शर्माको संयोजकत्वमा सामाजिक सङ्घसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीष सदस्य रहेको तीन सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित गठन गरेको जिल्ला भेलाका संयोजक लाल थापाले जानकारी दिनुभयो ।

यस्तै सुरज बोसेलको संयोजकत्वमा प्रदीप आचार्य, फणिन्द्र खड्कासहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटीलगायत पालिका, जनसङ्गठन, पेशागत सङ्गठनका विभिन्न उपसमिति गठन गरिएको छ ।

लाल थापाका अनुसार बृहत् जिल्ला भेलाको आयोजना गरी नयाँ पार्टीको जिल्ला कमिटी गठन गर्नका लागि जिल्ला भेला आयोजक कमिटी गठन गरिएको हो । छिट्टै जिल्ला भेलाको आयोजना गरी पार्टी गठनको तयारीमा समाजवादी बागलुङ अगाडि बढेको छ ।

सम्बन्धित खबरहरु