काठमाडौं । पूर्वयुवराज पारस शाहले आफूलाई रामकुमारी झाँक्री मनपर्ने बताएका छन् । पूर्वयुवराज पारस शाह बनेर आएका भरतमणि पौडेलले यस्तो बताएका हुन् ।

पुरुष राजनीतिज्ञमा डा. बाबुराम भट्टराई मनपर्ने बताएका उनी फाइनलमा पुगेका छन् । रियालिटी शो कमेडी च्याम्पियन सिजन २ ( Comedy Champion Season 2 – TOP 4 ) मा शाहको गेटअपमा देखिएका प्रतिस्पर्धी पौडेल अन्तिममा पुगेका हुन् ।

रामकुमारी झाँक्री मनपर्ने कारण अरुले खुट्टा तान्छ, उनले हातै तानिदिने भन्दै मनपर्ने उनले बताए । पार्टी फेरिरहने भन्दै बाबुराम भट्टराई ताक परे अब राप्रपामा आउन सक्छन् भन्दै मनपर्ने बताएका हुन् ।

पौडेल लामो कपाल, त्यसमाथि ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज लगाएर झलक्क हेर्दा पारस शाहजस्तै देखिने गेटअपमा देखिएका हुन् ।

शनिबार प्रशारण भएको कमेडी च्याम्पियन सिजन २ को अन्तिम ४ को प्रतिस्पर्धामा पारसको गेटअपमा देखिएका उनलाई दर्शकहरुले धेरै साथ दिएका थिए । पारस बनेर गएका पौडेललाई निर्णयक सन्तोष पन्तले बोलाएका हुन् ।

‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् ​, ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्’ भन्ने गीतसहित उनी आएका थिए । यो गीतमा पारसको हाउभाउवाला डान्सबाट माहोल गज्जब बन्छ ।

प्रस्तुतिका क्रममा जजहरुलाई पनि जोडेका उनले मोटरसाइकलमा सवार हुँदा हेलमेट नलाएको कुरा पनि खुलाए । राजतन्त्र, कमल थापाको पार्टीदेखि लिएर वर्तमान राजनीतिक परिस्थितिका बारेमा उनको कटाक्ष केन्द्रीत रहेको थियो ।

उनले राप्रपा अध्यक्ष थापाप्रति कटाक्ष गर्दै रायणहिटी दरवारमा धेरै पलाएको तर कमल थापाको गाईले किन खाँदैन भन्दै प्रश्न गरेका छन् । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि क्यारिकेचरका कारण चर्चामा आइसकेका छन् ।

प्रस्तुतिपछि सबै जजहरुबाट उनको प्रशंशा भएको थियो भने उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगिएको हो । उत्कृष्ट ४ बाट उनी बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका हुन् ।

बाँकी ३ प्रतिस्पर्धीबाट दुई जना भने भोटिङबाट फाइनालिस्ट छानिनेछन् । कमेडी च्याम्पियन शुरु भएपछि पहिलोपटक निर्णयक पन्तले दुई पटक उठेर सम्मान व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु