काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा चयन हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन हुनुभएको जानकारी दिनु भएको हो ।

आइतबार बसेको संसदीय दलको पहिलो बैठकबाट अध्यक्ष नेपाल सर्वसम्मतले अध्यक्ष चयन हुनुभयो । उहाँका अनुसार वेदुराम भुसाल राष्ट्रियसभा, संसदीय दलको नेतामा चयन हुनुभएको छ । बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो ।

एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सभामा सात सांसद छन् । त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । विधान मस्यौदा समितिमा भवानी खापुङ, शेरबहादुर कुवँर, लक्ष्मी चौधरी, निरा जैरु र ठगेन्द्रप्रकाश पुरी रहनुभएको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।

सांसद चौधरीका अनुसार बैठकले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । आजको बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गर्यो ।

बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्नुहुँदै नेता नेपालले हाल पार्टीको विधान, वैचारिक तथा सांगठनिक स्वरुप सबै निर्वाचन आयोगमा मस्यौदाको रुपमा रहेको र यी सबै मस्यौदाहरुलाई राष्ट्रिय सम्मेलनमार्फत पूर्णता दिइने बताउनुभयो ।

नेकपा एमाले विभाजनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले देशको सिंगा कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने लक्षण देखिएपछि आफूहरुले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पुर्नगठन गर्नुपरेको नेता नेपालले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु