काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानमा अझै करिब ३०० अमेरिकीहरु स्वदेश फर्किन पर्खाइमा रहेको बताएका छन् ।

उनले अमेरिकी सञ्चारमाध्यम एबीसीलाई यस्तो कुरा बताएका हुन् । उनले भनेका छन, ‘अब हामीसँग ३०० वा थोरै नागरिकहरु बाँकी छन् । हामी उनीहरुलाई बाहिर निकाल्ने धेरै दिनदेखि निरन्तर प्रयास गरिरहेका छौं ।’

एन्टोनी ब्लिन्केनले भने कि केही अमेरिकी नागरिकहरु ३१ अगस्तको म्याद सकिए पछि पनि अफगानिस्तानमा बस्ने निर्णय गरेका छन् ।

उनले अमेरिकीहरु अफगानिस्तानमा नफस्ने जिकिर गरेका छन् । उनले अमेरिकासँग उनीहरुलाई बाहिर निकाल्ने एउटा संयन्त्र रहेको पनि दाबी गरेका छन् ।

यस्तै, अफगानिस्तानका पूर्वप्रधानमन्त्री गुलबुद्दीन हेक्मतयारले अफगानिस्तानमा अन्तर्राष्ट्रिय स्तरमा सबै देशहरुले मान्यता दिने खालको सरकार बनाउनु पर्ने बताएका छन् ।

काबुलमा आइतबार एक पत्रकार सम्मेलनमा उनले भने, ‘मलाई लाग्छ कि अमेरिका यहाँ स्थायी सरकार चाहँदैन र यहाँको सरकारलाई केहि समयको लागि मान्यता दिनेछैन ।’ हेक्मतयार अफगानिस्तानको दोस्रो ठूलो चरमपन्थी समूह हिज्ब–ए–इस्लामीका नेता हुन् ।

उनले विदेशी शक्तिहरु अफगानिस्तानमा आफ्नो मनपर्ने सरकार चाहन्छन् पनि भनेका छन् । त्यसैले उनीहरु तालिबानलाई प्रतिबन्ध लगाउने र अफगानिस्तानमा तालिबान सरकारलाई मान्यता नदिने बारेमा कुरा गरिरहेको उनको आरोप छ ।

भारतलाई पनि उनले अफगानिस्तानको आन्तिरक विषयमा हस्तक्षेप नगर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन, ‘उनीहरु आफ्ना जनतालाई सरकारमा ल्याउन चाहन्छन्, तर अफगानिस्तानका नागरिकहरु आफैंले उनीहरुको धार्मिक र राष्ट्रिय मूल्यहरुलाई ध्यानमा राखी आफ्नो सरकारको निर्णय गर्नेछन् ।’ उनको पार्टी तालिबानलाई समर्थन गर्दछ र विश्वका अन्य देशहरुले अफगानिस्तानमा प्रतिबन्ध नलगाउने उनको बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु