काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज हिन्दू धर्माबलम्बीहरुले भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाउदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

तर, कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमीमा ललितपुरस्थित पाटनको कृष्णमन्दिर नखुल्ने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको दिनमा सम्पूर्ण भक्तजनहरुलाई आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा अर्चना गरी परम्परालाई निरन्तरता दिन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण यसवर्ष अधिकांश मन्दिर बन्द रहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण जोखिमका कारण नजिकिंदै गरेका चाडपर्वहरु पनि प्रभावित हुने भएका छन् ।

कोरोना संक्रमण दिनहुँ बढिरहेका कारण सरकारले स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व, जात्रा एवं उत्सव मनाउन निर्देशन दिएसँगै थप सजगता अपनाउनुपर्ने भएको हो ।

सम्बन्धित खबरहरु