काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी ड्रोन कारबाहीमा ६ बालबालिकासहित कम्तीमा नौ जना नागरिकको मृत्यु भएको छ । अमेरिकी कारबाहीले चरमपन्थी नभई सर्वसाधारण मारेको भन्दै चर्को आलोचना भइरहेको छ । अफगान अधिकारीहरुका अनुसार मृतक मध्ये एकै परिवारका चार जना सदस्य पनि रहेका छन् ।

गत बिहीबार काबुल विमानस्थलमा चरमपन्थी कारबाहीपछि १३ अमेरिकी सैनिकसहित झण्डै २०० जनाको मृत्यु भएको थियो । त्यस कारबाहीको जिम्मेवारी इस्लिामक स्टेट (आईएस) खोरासनले लिएको थियो । त्यसको जवाफमा अमेरिकाले कारबाही थालेको हो ।

गार्जियनले संयुक्त राज्य अमेरिकाले राजधानी काबुलको एक संदिग्ध आवासीय क्षेत्रमा ड्रोन कारबाही गरेको उल्लेख गरेको छ । सोही कारबाहीमा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको हो । मृतकहरुमा अमेरिकालाई विगतमा सहयोग गर्ने अफगान नागरिक पनि रहेको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाले आफुले गरेको जवाफी कारबाहीमा कुनै पनि सर्वसाधारणको मृत्यु नभएको जनाएको थियो । अमेरिकी अधिकारीहरुले आफुहरुले काबुल घटनाका मुख्य योजनाकारलाई सिध्याएको दाबी गर्दै आएका छन् । आइतबार अमेरिकाले एक कारमाथि कारबाही गरेको थियो ।

उक्त कार काबुलमा भएका अमेरिकी सैनिकलाई लक्षित गरेर आइरकेको भन्दै अमेरिकाले बीचमा नै उडाएको थियो । तर स्थानीयहरु उक्त कारमा के थियो भनेर भन्न सक्ने अवस्थामा छैनन् । अमेरिकी कारबाहीपछि कार कंकालमा परिणत भएको छ ।

अमेरिकी कारबाहीमा आफ्नो भाई गुमाएका एकजनाले भनेका छन, ‘हामी एक सामान्य परिवारका मानिसहरु हौं, आईएस होइनौं । यो हाम्रो पारिवारिक घर हो । मेरो कान्छो भाइ यहाँ आफ्नो परिवार संग बस्थ्यो ।’ एक छिमेकीले भने, ‘हामी सबै आगो निभाउने कोशिशमा थियौं । जब म आगो निभाउन गएँ, मैले त्यहाँ ५–६ वटा शव देखे ।’ अहिले अमेरिकाको सर्वत्र आलोचना भइरहेको छ ।

चर्चित लेखक चार्ल्स लिस्टरले कुन खुफिया जानकारीले अमेरिकीले कारबाही गर्यो भन्दै प्रश्न गरेका छन् । संयुक्तराज्य अमेरिकाले २० बर्ष लामो लडाँईपछि अफगानिस्तानबाट सबै सेनाहरु मंगलबार फिर्ता लैजान लागेको छ ।

तालिबानले पहिले नै देश आफ्नो हातमा लिएको छ । अर्कोतिर अमेरिका तालिबानसँग बिभिन्न मुद्दाहरुमा कुराकानी गरिरहेको छ । आईएसलाई समाप्त पार्न तालिबानसँग मिलेर जाने अमेरिकाले बताइसकेको छ ।

सम्बन्धित खबरहरु