काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । सोही विषयमा छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।

[caption id="" align="aligncenter" width="1000"] File Photo[/caption]

जारी बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संयुक्त छलफल गर्नुभएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएका देउवा नेकपा एकीकृत समाजवादी र जसपालाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तारको तयारीमा हुनुहुन्छ ।

हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र हुनुहुन्छ । कांग्रेसको तर्फबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुनु भएको छ ।

सम्बन्धित खबरहरु