काठमाडौं । मन्त्रिमण्डलाई पूर्णता दिन बसेको सत्तारुढ गठबन्धनको बैठकमा दार्चुलाका जयसिंह धामी प्रकरणबारे चर्चा भएको छ । नेताहरुले सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको हो ।

सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँहरुले तत्काल प्रतिवेदन ल्याउनुपर्ने, नेपाल सरकारको अडान प्रष्ट पारेर त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्ने धारणा राख्नु भएको हो । १५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा अस्नु भएको थियो । घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ ।

तर अहिलेसम्म समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुभयो । कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय लिने भन्नेबारे सत्तारुढ गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको हो ।

सम्बन्धित खबरहरु