काठमाडौं । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ ।

गौरा पूजनका हिसाबले आजको दिनलाई यहाँका महिलाले महत्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी पनि भनिएको हो ।

पवित्र धागोबाट निर्माण गरिएको ‘दुबधागो’ लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीले आजकै दिन धारण गर्दछन् । दुबधागो ग्रहण गरेका महिलालाई पवित्र मानिन्छ ।

दुबधागो धारण गरेका महिलालाई भात भान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ ।

दुबधागो धारण गरेका महिलालाई गौरा पूजन गर्ने पूर्ण अधिकार रहन्छ । महिला बिहानै खोला तलाउनमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर नाच्ने गर्दछन् ।

आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका ज्ञाता रनबहादुर ऐरीले बताउनुभयो ।

अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औँला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।

यसै अवसरमा गौराको पहिलो दिन पाँच गेडागुडी भिजाएर बनाइएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ ।

अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिकरुपमा बिरुडा भिजाउने चलन थियो ।

अहिले बासिन्दाले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घरघरमा भिजाउने गरेका छन् ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो ।

पार्वतीले शिव पति पाए झैँ अविवाहित युवती शिव झैँ पति पाउन भनी ब्रत बसेका महिलाले अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउकामा राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।

धुमारी र ढुस्को तथा ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर सुरु हुने गौराको बिसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् ।

भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ ।

त्यसपछि ती बिरुडालाई पुनःभिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीले खेतबारीबाट धान, साउलगायतका बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् ।

गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक महेश्वर मानेर राख्ने गरिन्छ ।

यस बेलामा दुबधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन् र कसैले फलाहार गर्छन् ।

यसअघि महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ ।

गौरा नचाएका बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भनिन्छ ।

अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को र देउडा खेल्ने गर्छन् ।

धामी, झाँक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुष विशेष गरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।

महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् ।

यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पुज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खेखेती लगाएर फुर्सदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् ।

गौरा मनाउन देश विदेशबाटसमेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । बर्खे खेतीपछिको थकाई मार्न सबै गौरामा रमाउँछन् ।

गौरामा धनी गरीब भनिदैन, सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम नदी बाजागाजासहित जलाशय वा नदी किनारमा विर्सजन गरिन्छ । रासस

सम्बन्धित खबरहरु