काठमाडौं । ट्रक दुर्घटना हुँदा २० जना घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको छ । धादिङको नीलकण्ठ नगरपालिका–८ बगैँचामा सोमबार बिहान आइसर ट्रक दुर्घटना हुँदा बीस जना घाइते भएका हुन् ।

त्यहाँको ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक दुर्घटनामा परेको हो । ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

गम्भीर घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ । ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

घाइते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु