काठमाडौं । माधवकुमार नेपाललाई जोडदार झट्का लागेको छ । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिनु भएका एक शिर्ष नेताले साथ छोड्नु भएको हो । नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छोड्नु भएको हो ।

सोमबार फेसबुकमा एक स्टाटस राख्दै उहाँले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले त्यस्तो नभएको तर्क गर्नुभयो ।

उहाँले भन्नु भएको छ, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।’

अर्कोतिर प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई यतिबेला आफू नेतृत्वको सरकार जोगाउन सकस परेको छ ।

सत्तारुढ एमाले पार्टी विभाजनपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईको राजीनामा गराएर एमालेकै तर्फबाट मुख्यमन्त्री बन्नु भएका आचार्य यतिबेला प्रदेशसभामा एकल बहुमत कायम राख्न सकसमा पर्नुभएको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले नेपालको संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त दलको नेताको रूपमा आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।

तर पार्टी विभाजनसँगै मुख्यमन्त्री आचार्यसँग प्रदेशसभामा एकल बहुमत कायम नरहने देखिएको छ । एमाले छाडेर १० सांसद माधवकुमार नेपालको पार्टीमा आउने भएपछि प्रदेश १ सरकार अल्पमतमा पर्ने देखिएको हो ।

सम्बन्धित खबरहरु